xmlns:fb='http://www.facebook.com/2008/fbml' प्रभावशाली नेतासँग भिड्दैछन् महिला - Np Kathmandu
Searching...
Monday, 7 October 2013

प्रभावशाली नेतासँग भिड्दैछन् महिला

काठमाडौं, आश्विन २१ - दोश्रो संविधानसभा निर्वाचनमा कतिपय प्रभावशाली नेतासँग महिला उम्मेद्वार  भिड्ने भएका छन् । महिला नेतृका अधिकांश प्रतिस्पर्धी राजनीतिक पकड भएका पुरुष भएपनि महिलाहरु जित्ने विश्वासका साथ निर्वाचनमा होमिएका छन् ।
एकातिर प्रमुख राजनीतिक दलले प्रत्यक्ष तर्फ १०/१२ प्रतिशत मात्रै महिलालाई उम्मेद्वारी दिएका छन् ।
उम्मेद्ववारी पाएका अधिंकाश महिलाका प्रतिस्पर्धी पुरुष भएकाले उनीहरुले तीनै प्रभावशाली नेतासंग भिड्ने आँट गरेका हुन् । सर्लाही क्षेत्र नम्बर ३ मा एमालेले भगवती चौधरीलाई उठाएको छ । प्रतिस्पर्धीका रुपमा मधेशी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादब छन् । जो विगतको संविधान सभाको निर्वाचनमा दुई वटा क्षेत्रबाट निर्वाचित भएका थिए । यादब विगतको निर्वाचनमा सुनसरी ५ र मोरङ ५ बाट बिजयी भएका हुन् । काठमाडौं क्षेत्र नम्बर २ बाट एमाओवादी नेता लीलामणी पोख्रेल र एमाले बरिष्ठ नेता माधबकुमार नेपालसंग कांग्रेसकी प्रतिमा गौतम भिड्ने भएकी छिन् ।
त्यस्तै, कांग्रेसले धादिङ क्षेत्र नम्बर ३ बाट बुद्धलक्ष्मी लामालाई प्रत्यक्षको उम्मेद्वारी दिएको छ । उनी एमाओवादीका शालिकराम जमरकट्टेलसंग भिड्ने छिन् । राैतहट क्षेत्र नम्बर १ बाट राष्ट्रिय मधेशबादी समाजबादी पाटीकी निलम बर्मा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसँग भिड्दैछिन् । 'मेरो दक्षता र क्षमताले भ्याएसम्म लागिरहेकी छु, जित्ने बिश्वास छ' उनले भनिन् ।
पर्सा- १ बाट फोरम लोकतान्त्रिककी करिमा बेगम एमाले नेता नबराज शर्मासंग भिड्दै छिन् । भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसंग एमालेकी रञ्जु नापित उठ्दैछिन् । एमालेको भातृ संगठन अनेमसंघको पृष्ठभूमिबाट नापितले उम्मेदवारी पाएकी हुन् ।
सिन्धुली क्षेत्र नम्बर २ मा एमालेकी उमा कोइराला माओवादी केन्दि्रय नेता गंगा नारायण श्रेष्ठसंग भिड्दैछिन् । एमालेकी पूर्व सभासद् उषाकला राई आफुले प्रत्यक्षमा टिकट माग्दा पनि पाटीले नदिएको गुनासो गर्छिन् । 'खोटाङ क्षेत्र नम्बर २ बाट जो सुकै उठेपनि जितेर देखाइदिने थिएँ,' उनले भनिन्, 'मैले यति 'च्यालेन्ज' गर्दा पनि पाटीले टिकट दिएन ।'
राइका अनुसार जित्ने सुनिश्चतता नभएका कारण प्रत्यक्षमा उठने अनुमान गरिएका महिलाचाहि समानुपातिकमा बसेका छन् भने राजनीतिक रुपमा नयाँ अनुहारले भने प्रभावशाली नेतासंग भिड्ने आँट देखाएका छन् । एमालेको उपाध्यक्ष बिद्यादेबी भण्डारी, पोलिटब्यूरो सदस्य अष्टलक्ष्मी शाक्य लगायत नेतृहरुले समानुपातिक रोजेका छन् । कांग्रेसले एक प्रभावशाली नेतृलाई प्रत्यक्षको टिकट दिएन ।
काठमाडौं- ४ बाट गत संविधान सभाको निर्वाच्ानमा निर्वाचित भएकी सुप्रभा घिमिरेले यसपाली टिकटै पाइनन् । उनको ठाउँमा युवा नेता गगन थापालाई टिकट दिएपछि उनले पार्टी नै त्याग गरी स्वतन्त्र उठ्ने भएकी छिन् । पार्टीको कोषाध्यक्षको हैसियतमा रहेकी चित्रलेखा यादब, नेतृ सुजाता कोइराला, महालक्ष्मी उपाध्याय, डिला संगौला, आरजु देउवा लगायतलाई समानुपातिकमा राखेको छ ।  
एमाओवादीले पनि देबी खड्का, लक्की शेर्पा, लक्ष्मी पुन, शशी श्रेष्ठलगायतलाई समानुपातिकमा पारेको छ ।
भगवती चौधरी                      उपेन्द्र यादव
प्रतिमा गौतम                      माधवकुमार नेपाल
बुद्धलक्ष्मी लामा                     शालिकराम जमरकट्टेल
रञ्जु नापित                        नारायणमान बिजुक्छे
निलम बर्मा                        माधबकुमार नेपाल
उमा कोइराला                      गंगानारायण श्रेष्ठ
कल्पना अर्याल                     गोपालमान श्रेष्ठ कांग्रेस