- कोइरालाको क्षेत्रमा नेता र जनमत अस्थिर
नेपालगन्ज, आश्विन २१ - नगरका पूर्वमेयर धवलसम्शेर राणा बाँके क्षेत्र नं. ३ मा चौथोपटक निर्वाचनमा होमिदैंछन् । अघिल्लो संविधानसभामा राप्रपाबाट उम्मेदवार बनेका उनी यसपटक राप्रपा नेपालबाट उठेका छन् । ०५१ सालयताका हरेक निर्वाचनमा उनी उम्मेदवार छन, तर पार्टी भने दोहोर्याएका छैनन्।
सुरुमा सेभ द नेशनबाट राजनीति सुरु गरेका राणा उक्त पार्टीले निर्वाचनमा भाग नलिएपछि ०५१ सालमा स्वतन्त्र रुपमा पहिलोपल्ट चुनाव लडे । पराजय लगत्तै एमाले प्रवेश गरेका उनी ०५४ सालको स्थानीय निर्वाचनमा नेपालगन्ज नगरपालिकाको मेयर जिते । दोस्रो जनआन्दोलनअघि एमाले त्यागेका राणा ०६४ को पहिलो संविधानसभा चुनावमा राप्रपाबाट उठेर देशभरबाट जमानत जोगाउने सात उम्मेदवारमध्ये परे । 'चित्तै नबुझेर पार्टी छाड्ने हो'- उनले भने,-अहिले राप्रपा नेपालको एजेण्डामा चित्त बुझेर यता छु । उनी राप्रपा नेपालको केन्द्रीय उपाध्यक्ष पनि हुन् ।
राणा मात्र हैन, तराई-मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य पशुपतिदयाल मिश्र पनि चुनावैपिच्छे पार्टी फेर्ने नेतामा पर्छन् । ०६४ सालको संविधानसभा निर्वाचनमा बाँके क्षेत्र नं. २ मा राप्रपाबाट उम्मेदवार बनेका थिए, अहिले तमलोपाबाट । शाही शासनकालमा ०६२ मा जिल्ला विकास समितिको सभापतिमा पनि मनोनीत भए । जिल्ला सभापति निर्वाचनमा ०५५ सालमा कांग्रेसबाट विद्रोह गरेका मिश्र ०५६ सालको निर्वाचनमा पनि स्वतन्त्र उठे । 'मेरो मात्र के कुरा, नेपालकै राजनीति अस्थीर छ'-उनले भने,-'पार्टीभित्रको भेदभावका कारण कांग्रेस छाड्नुपर्यो । अहिले ठिक ठाउँमा छु ।'
महिला नेतृद्वय सन्ध्या देव र सत्यदेवी कुर्मी पनि धेरै पार्टी फेरबदल गर्नेमा पर्छन् । हरेक निर्वाचनमा फरक पार्टीबाट उम्मेदवार हुन्छन् । पूर्वसभासद् सन्ध्या देवले एक दशकमा झण्डै आधा दर्जन पार्टी चहारिसकिन् । सद्भावना, नेपाल समता पार्टी, मधेसी जनअधिकार फोरम, तमलोपा हुँदै उनी अहिले राष्ट्रिय मधेस समाजवादी पार्टीबाट बाँके क्षेत्र नं. ३ बाट उम्मेदवार भएकी छन् । अघिल्लो संविधानसभा निर्वाचनमा तमलोपाबाट समानुपातिक उम्मेदवार रहेकी कुर्मी अहिले तराईमधेस सद्भावना पार्टीबाट बाँके क्षेत्र नं. ३ बाट उम्मेदवार भएकी छिन् ।
०५१ र ०५६ सालका निर्वाचनमा उनी सद्भावना पार्टीबाट उठेकी थिईन् । 'अरु आफ्नो स्वार्थका लागि पार्टी फेरबदल गर्छन'- उनले भनिन्- पहिले सद्भावनामा लागे, पछि तमलोपामा । सबै देश र जनताका लागि हो । उनले महिलालाई सधै बेवास्ता गरिने गरेकाले प्रत्येक्षबाट जितेर देखाउने दाबी गरिन् ।
त्यसो त, कांग्रेस सभापति सुशील कोइरालाको निर्वाचन क्षेत्र बाँके-३ मा नेताहरु मात्र अस्थीर छैनन । यहाँका मतदाताले हरेकपटक फरक नतिजा दिने गरेका छन् । ०४८ सालमा कांग्रेसका कोइरालाले जित्यो । ०५१ सालमा राप्रपाका शान्तिसम्शेर राणाले कोइरालालाई पराजित गरे । ०५४ को स्थानीय निर्वाचनमा एमालेका तर्फबाट धवलसम्शेर राणाले मेयर जिते । ०५६ सालको निर्वाचनमा कोइराला पुनः विजयी भए पनि ०६४ को संविधानसभा निर्वाचनमा मधेसी जनअधिकार फोरमका सर्वदेव ओझा विजयी भए । उनी अहिले स्वतन्त्र उम्मेदवार भएका छन् ।