काठमाडौ, आश्विन २१ - एमाले अध्यक्ष झलनाथ खनालले उम्मेदवारको सुरक्षामा ध्यान दिन मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीसाग माग गरेका छन् । उच्चस्तरीय राजनीतिक समितिका संयोजक रहेका खनालले आज मन्त्रिपरिषद् अध्यक्ष रेग्मीलाई भेटेर यस्तो माग गरेका हुन् ।
खनाल र रेग्मीबीच उम्मेदवारको सुरक्षा, आगामी मंसिर ४ गतेका लागि तोकिएको निर्वाचनको सुरक्षाको बिषयमा समेत छलफल भएको अध्यक्ष रेग्मीको निजी सचिवालयले जनाएको छ । खनालसागको भेटमा अध्यक्ष रेग्मीले उम्मेदवारको सुरक्षाको लागि प्रभावकारी सुरक्षा नीति अवलम्बन गरी लागू भइरहेको बताएको उनका प्रेस संयोजक राजेन्द्र पाण्डेले जानकारी दिए ।
उनीहरुबीच कुटनीतिक नियोगहरुमा रिक्त पद, राष्ट्रिय मानव अधिकार आयोग लगायतका संवैधानिक निकायहरुमा रिक्त पद पूर्ति गर्ने बिषयमा पनि छलफल भएको छ ।