xmlns:fb='http://www.facebook.com/2008/fbml' गीतकार शिव शर्मा 'चञ्चल'को 'विगत' लोकार्पण - Np Kathmandu
Searching...
Monday, 7 October 2013

गीतकार शिव शर्मा 'चञ्चल'को 'विगत' लोकार्पण

पोखरा, आश्विन २० - गीतकार शिव शर्मा 'चञ्चल' द्वारा रचित गीतहरुको एल्बम 'विगत' आइतबार लोकार्पण गरिएको छ । आधुनिक तथा पप गीतहरु समेटिएको एल्बमको साहित्यकार सरुभक्तले लोकार्पण गरेका हुन । त्यस अवसरमा उनले चञ्चलका गीतमा आधुनिक र लोकलयको  सुन्दर समिश्रण पाइएको बताए । शिष्टता प्रोडक्सनले बजारमा ल्याएको  एल्बमको समिक्षा गीतकार तथा संचारकर्मी दीपेन्द्र श्रेष्ठले गरेका हुन् । उनले एल्बमका प्रेमभाव झल्कने सबै गीत श्रवणयोग्य रहेको टिप्पणी गरे । चञ्चल कान्तिपुर दैनिकका कास्की संवाददाता हुन । उनको यसअघि बिरहका प्रलापहरु नामक गीतिसंग्रह प्रकाशित भइसकेको छ ।
एल्बममा  समेटिएका पाँच गीत सुगम संगीत र थप दुई गीत पप शैलीका छन् । चौतारीमा बसे पनि, आजैबाट पाईला मेरो, तिम्रो छाती दुख्दा खेरी,  जून छैन, तारा छैन,  अलि नजिक आउ भन्दा सुगम र मरे मरे मैले भन्दा र पानीले पोल्यो मलाई पप शैलीका गीत हुन् ।  स्वरुपराज आचार्य, राजेशपायल राई,  दिपक लिम्बु,  हेमन्त शर्मा,  मिङ्मा शेर्पा र रेसमा सुनुवारको स्वर रहेको एल्बममा  सत्य-स्वरुप, वसन्त सापकोटा,  सुमग पोखरेल, सुरेश अधिकारी,  बिजु बज्र र धर्मेन्द्र सेवानको संगीत छ । झण्डै चार वर्षको प्रयासपछि चञ्चलले गीतहरुलाई एल्बमको आकार दिएका हुन । विकल्प क्रियसन म्युजिक कम्पनीले महिनौसम्म काम नगरिदिएपछि उनले आफ्नै प्रयासमा एल्बम बजारमा ल्याएका हुन् ।
एल्बममा स्वरुपराजले गाएको चौतारीमा र राजेशपायल राईले गाएको आजैबाट गीतको म्युजिक भिडियो समेत निर्माण भएको छ । दुवै म्युजिक भिडियो युवा निर्देशक नेत्र गुरुङले निर्देशन गरेका हुन् । तीन वटा म्युजिक भिडियोमा मोडल र मार्केट सिनेमामा समेत अभिनय गरेका शर्माका  झण्डै दुई दर्जन गीतहरु रेकर्ड भइसकेका छन् । केही सिनेमामा समेत गीत लेखेका शर्माको  पहिलो रेकर्ड गीत चर्चित ब्यान्ड परिवेशको भाग, ५ सोल्टीमा समावेश भएको  सरर माइक्रोबस चढेर जाउँ है पोखरा हो ।
पोखरा फिल्म सोसाईटीद्वारा आयोजित कार्यक्रममा लोकगायिका हरिदेवी कोइराला,  पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष सरस्वति प्रतिक्षा, पत्रकार महासंघ अध्यक्ष बद्रीविनोद प्रतिक, स्वतन्त्र पत्रकार महासंघका अध्यक्ष कुष्णप्रसाद बाँस्तोला, सोसाइटीका अध्यक्ष तथा फिल्मकर्मी घनश्याम लामिछाने, कलाकार सुरेन्द्रमणि पौडेलले गीतकार चञ्चलको गीती यात्रा र पत्रकारिताका बारेमा चर्चा गरेका थिए ।