क्वालालम्पुर, आश्विन २० - भगवान गौतम बुद्धबारेको भ्रम हटाउन मलेसियामा आगामी आइतबार बृहत कार्यक्रम हुँदैछ । गैरआवासीय नेपाली संघको आयोजनामा हुन लागेको सो कार्यक्रममा बुद्धबारे तथ्य समेटेर तयार पारिएको करिब २६ मिनेटको बृत्तचित्र र फोटो प्रदर्शनी गर्न लागिएको हो ।बुद्धबारेको सो वृत्तचित्र निर्माण गरेका पत्रकार चेतन पन्त कार्यक्रमका लागि मलेसियामा छन् । कार्यक्रममा विभिन्न समयमा खिचिएका बुद्धको जन्मस्थल लुम्बिनीको फोटोहरु प्रदर्शनी गरिने बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको थियो ।
सो क्रममा बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश फैलाउन जरुरी भएकाले कार्यक्रम गर्ने तयारी गरिएको उनले बताए । “हामीले बुद्ध नेपालमै जन्मेका हुन्, भारतमा हैन भन्ने सन्देश विश्वभर फैलाउनु जरुरी छ ।” आफुले हङकङ लगायत विभिन्न मुलुकमा समेत यसबारे कार्यक्रम गरिसकेको उल्लेख गर्दै उनले भने “विश्वभर रहेका गैर आवासीय नेपाली, र विभिन्न देशमा रहेका नेपाली समूदायको समन्वयमा हङकङ, थाइलैण्ड र अमेरिका लगायत थुप्रै मुलुकमा कार्यक्रम गरिसकीएको छ । राज्यले यस्तो कामलाई सघाउनुपर्दछ ।” लुम्बीनी क्षेत्रका पन्तले आफुले विभिन्न समयमा खिचेका ७६ वटा फोटोहरु प्रर्दशनी गरिने जानकारी दिए ।
ब्रिकफिल्डस्थित बौद्ध महाबिहारमा हुने सो कार्यक्रमका लागि पन्तसंगै लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी किशोर जोश, अभिनाश श्रेष्ठ र निराकर पन्त पनि निजी खर्चमा मलेसिया आएका छन् । कार्यक्रममा विभिन्न मुलुकका राजदुत, भिक्षु, स्थानीय तथा नेपाली विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिती रहने जनाइएको छ ।